रोपाइँ पोहोरजस्तै उत्पादनमा आशङ्का

सुरेशकुमार यादव

ropaiकाठमाडौँ, भदौ ३ गते । यस वर्ष ९४.४३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको भदौ १ सम्मको तथ्याङ्कअनुसार देशभर १२ लाख ९५ हजार २८२ हेक्टरमा ९४.४३ प्रतिशत रोपाइँ भएको छ । नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ । गत वर्ष यही समयसम्म ९५.३९ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशत कम रोपाइँ भएको छ ।
गत वर्ष यो समयमा १३ लाख आठ हजार ५०० हेक्टरमा ९५.३९ प्रतिशत रोपाइँ हुँदा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादन भएको त्यही वृद्धिका कारण कृषि तथा पशुपक्षी मन्त्रालय उत्साहित भएर आव २०७६÷७७ वर्षमा ६० लाख मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
बाढीका कारण ढिलो रोपाइँ, सिँचाइ तथा मलको अभावका कारण लिएको लक्ष्य पूरा नहुने हो कि भन्ने आशङ्का कृषि विभागमा महानिर्देशक सूर्यप्रसाद पौडेलले गर्नुभयो । उहाँले भन्नुभयो, साउन २० देखि २५ गतेसम्मको रोपाइँ राम्रो मानिन्छ तर बाढीका कारण रोपाइँ ढिलो भएको छ, त्यही भएर गत वर्षभन्दा कम उत्पादन हुने हो कि आशङ्का छ । यद्यपि उहाँले समयमा मल, सिँचाइ र गोडमेल भयो भने गत वर्ष जतिकै उत्पादन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

सुदूरपश्चिममा मात्र शत प्रतिशत
बाढीले कतिपय ठाउँमा धानको ब्याडमा क्षति पुगेका कारण धान रोपाइँ प्रभावित भएको थियो । सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा मात्र शत प्रतिशत रोपाइँ भएको छ भने बाँकी कुनैमा शत प्रतिशत रोपाइँ भएको छैन । प्रदेश १ मा ९३.४९ प्रतिशत, प्रदेश २ मा ९३.३१ प्रतिशत, प्रदेश ३ मा ९६.९५ प्रतिशत, गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत, प्रदेश ५ मा ९४.३९ प्रतिशत, कर्णाली प्रदेशमा ९६.१६ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । प्रदेश १ मा दुई लाख ७५ हजार ९०१ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये दुई लाख ५७ हजार ९३८ हेक्टरमा धान रोपाइँ भएको छ ।
सबभन्दा धेरै बाढी प्रभावित रहेको प्रदेश २ मा तीन लाख ६५ हजार ६१५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये तीन लाख ४१ हजार १६० हेक्टरमा रोपाइँ भएको छ । प्रदेश ३ मा एक लाख १५ हजार २९५ हेक्टरमा खेती हुन्छ । त्यसमध्ये एक लाख ११ हजार ७८४ हेक्टरमा रोपाइँ भएको छ ।
गण्डकी प्रदेशमा एक लाख आठ हजार २७८ हेक्टरमा धान खेती हुनेमा ९६ हजार २७१ हेक्टरमा रोपाइँ सकिएको छ । सो प्रदेशको मनाङ, मुस्ताङमा धान खेती नै हुँदैन ।
प्रदेश ५ मा तीन लाख ३५ हजार ९३ हेक्टरमा धान खेती हुनेमा दुई लाख ८६ हजार ५७२ हेक्टरमा रोपाइँ भइसकेको छ ।
कर्णालीमा ३८ हजार ३८५ हेक्टरमा मात्र धान रोपाइँ हुन्छ । त्यसमध्ये ३६ हजार ९१० हेक्टरमा धान रोपाइँ भएको छ । कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु, दैलेख र हुम्लामा शत प्रतिशत रोपाइँ भएको छ । रुकुम पश्चिम, जाजरकोट, सल्यानमा ९८ र सुर्खेतमा ९० प्रतिशत रोपाइँ भएको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds