संयमित संस्कारको खाँचो (सम्पादकीय)

चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या हो या हत्या भन्ने निक्र्योल हुन सकेको छैन । त्यो घटना प्रहरीको अनुसन्धान प्रक्रियामै छ । अनुसन्धानबाट स्थापित तथ्यहरूको आधारमा टुङ्गोमा पुग्न सकिने यो घटनाबारे यतिखेर सामाजिक सञ्जाल अनि चितवनको सडकमा जनमत विभक्त देखिएको छ । दिवङ्गत पत्रकार पुडासैनीको आवाज रहेको भिडियोमा एक टेलिभिजन कार्यक्रम प्रस्तोताको नाम लिइएको र निजसमेतलाई अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान तथा न्याय प्रक्रियाको अन्तिम निर्णयकर्ता आपूm नै हुँ भनेजस्तो गरी प्रतिक्रिया देखिएका छन् । यो घटना जनतालाई सूचना प्रवाहको कार्यमा लागेका सञ्चारकर्मी सम्बद्ध भएको हुँदा पनि आम नागरिकको चासो स्वाभाविक छ । यो चासोसँगै प्रश्न उठेको छ – हामी कस्तो संस्कृति स्थापित गर्न चाहन्छौँ ? विधि–प्रक्रियालाई अस्वीकार गरी भीडको चाहनाका आधारमा न्याय निरुपण होस् भन्ने कि तथ्य–प्रमाणका आधारमा पुगिने निष्कर्षलाई स्वीकार्ने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्न तयार हुने ? कुनै पनि घटनाको अनुसन्धान प्रक्रियालाई सहयोग गर्नेसँगै घटना–विषयको गम्भीर विवेकयुक्त दृष्टिकोण बनाउने संस्कृति निर्माण गर्नु आवश्यक छ ।
एक सञ्चारकर्मीको मृत्युबारे अनुसन्धान प्रक्रियामा प्रहरीले अर्का सञ्चारकर्मीलाई हत्या प्रमाणित भई दोषीका रूपमा कारबाही स्वरूप पक्राउ गरेको होइन । घटनाको अनुसन्धान गर्ने राज्यको स्थापित संयन्त्र प्रहरी हो । उसले उठेका यावत् शङ्काका आधारमा कुनै व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न सक्छ । शङ्काको आधार पुष्टि हुन नसके नियन्त्रणमुक्त गर्छ । अनुसन्धान प्रक्रिया तत्काल टुङ्गोमा पुग्न वा लामो समय लाग्न पनि सक्छ । प्रहरी नियन्त्रणमा पर्नासाथ कोही अपराधी प्रमाणित हुन पनि सक्दैन । प्रहरीले अपराधी नै ठहर गरे पनि सजायँका लागि अदालतमा लैजाँदा अभियुक्तका रूपमा मात्र हुन्छ । अपराधी कि अभियुक्त भन्ने ठहर अदालतले गर्छ । यही अनुसन्धान र न्यायिक प्रक्रिया अन्तर्गत नेपाल प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया चलाइरहेको छ । शवको पोस्टमार्टम भएको छ, भिडियो प्रयोगशाला परीक्षण भएको छ । प्रहरी नियन्त्रणमा परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा पनि लागेको छ । यो अवस्थामा सामाजिक सञ्जालमार्फत् विषय गञ्जागोल पार्न खोजिएको छ ।
पत्रकार पुडासैनीको हत्या हो या आत्महत्या ? पहिले त्यो यकिन गर्ने कर्तव्य प्रहरीको हो । यस कार्यमा प्रहरीले आफ्नो क्षमता–कौशल प्रयोग गरी दक्षिण एसियामा स्थापित शाख पुष्टि गर्नैपर्छ तर अनुसन्धानको ठहर नपर्खी कोही व्यक्ति घटनामा संलग्न हो वा होइन भन्ने आत्मगत धारणामा प्रतिक्रियात्मक हुनुका पछाडि अनुसन्धान र न्याय प्रक्रियामा दबाब दिन खोजिएको पनि हुनसक्छ । प्रतिक्रिया जनाउने सबैले अपराध मनोविज्ञान र जाल बुझेका हुँदैनन् । कसैप्रतिको अनुरागका आधारमा उसले अपराध गरेको वा नगरेको विश्वास गर्न नसकिने अनेकौँ आपराधिक घटनाले पुष्टि गरेकै छन् । घटनाको सही अनुसन्धान हुनुपर्छ तर सत्यतथ्य स्थापित नहुँदै कसैलाई दोषी, निर्दोषी ठह¥याउने, राज्य संयन्त्रप्रति अविश्वास गर्ने कार्य पूर्वाग्रही मात्र हुन्छ । यस्तै आग्रह चितवनका सडक, सामाजिक सञ्जालमा छरिन पुगेका छन् । विद्वान्, अधिकारकर्मी, राजनीतिकर्मीसमेत तीनै आग्रहका हावामा लहरिनु उदेकलाग्दो छ ।
यस्तो संस्कारले समाज भड्काउँछ । विधि प्रक्रियामा चल्ने राज्य व्यवस्थालाई भीडको बलमा कमजोर देखाउन र आफ्नो स्वार्थ पूरा गर्न चाहने तŒवलाई सहयोग पु¥याउँछ । भीड जम्मा गर्न नसक्नेले न्याय पाउँदैन । अपराधी उम्कन र निर्दोष सजायँभागी हुन पनि सक्छ । पक्कै पनि भीडको आत्मगत धारणाको दबाबमा राज्य संयन्त्रले काम गर्दैन, गर्न पनि हुँदैन । न्यायका हिमायतीले धारणा व्यक्त गर्ने, प्रदर्शन गर्ने अधिकार छ भन्ने तर्कका आधारमा भीडबाटै राज्य निर्देशित हुनुपर्छ भन्ने मान्यता राख्नु अराजकताको सेवा हुन्छ । त्यसैले चितवनका राजनीतिक दल यो घटनाको स्वच्छ, निष्पक्ष न्याय निरुपणमा सघाउन तथा शान्ति सुरक्षामा खलल पार्ने कार्य निरुत्साहित गर्न अग्रसर भएका छन् । हाम्रो राष्ट्रिय संस्कार नै भीडबाट निर्देशित हुने होइन, तथ्यसत्यका आधारमा धारणा बनाउने हुनुपर्छ । आपराधिक घटनालाई राजनीतिक बनाउनु हुँदैन, अपराधी जोसुकै भए पनि दण्डित गरिनै पर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds