शिक्षामा रूपान्तरण आवश्यक

bamdev chhetriवामदेव क्षेत्री (घिमिरे)

अहिले नेपाली समाज रूपान्तरणको ऐतिहासिक मोडमा उभिएको छ । नेपाल सामन्तवादबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणसँगै शिक्षाक्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता छ । संविधानले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि त्यो व्यवहारमा लागू भएको छैन । नेपालको वर्तमान शिक्षा प्रणालीमा देखापरेका जटिलतालाई समयमै समाधान गर्नुपर्छ । झट्टा हेर्दा सरकारी विद्यालय प्राथमिक तहमा भर्ना भएका विद्यार्थीमध्ये १२ प्रतिशत मात्र एस.एल.सी. परीक्षामा समावेश भएको पाइन्छ । सात वर्षमाथि उमेरका ६५ प्रतिशत १५ वर्षमाथिका ५५ प्रतिशत मात्र बालबालिका सहजै अनुमान लगाउन सकिन्छ । ३ प्रतिशत मात्र विद्यार्थीले विश्वविद्यालयको शिक्षा पूरा गरेको पाइन्छ । हाल नेपालको त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग र नेपाली भाषा विभागमा २÷२ जना मात्र भर्ना भएको समाचार आएको छ । किन शिक्षाप्रति यस्तो अवस्था बन्यो ? सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ ।
शिक्षा आयोगले जम्बो टोली शिक्षाको परिमार्जनका लागि गठन ग¥यो, तर त्यसको प्रतिवेदन बुझाउँदा कार्यक्रममा शिक्षकले राजनीति नगरेको बारे प्राथमिकतामा रहेको सुनियो । तर के छ हेर्न बाँकी छ । शिक्षा भनेको मानव चेतनाको परिवर्तन, विकास र अग्रगमनको आधार हो । शिक्षा भन्नु नै संस्कृतिको चेतना विकास गर्ने क्षेत्र हो । त्यसैबाट देशको प्रगति र विकासको आधारशिला बन्ने हो । सबैभन्दा व्यवस्थित हुनुपर्ने शिक्षा प्रणाली अहिले माथिदेखि तलसम्म अस्पष्टता र अराजकतामा डुबेको छ । देशलाई कुन क्षेत्रमा कस्तो जनशक्ति चाहिने हो, त्यसको कुनै योजना छैन । शिक्षाका पाठ्यक्रम परम्परावादी छन् । के सरकारले कम्पनी ऐन अन्तर्गत चल्ने निजी विद्यालयलाई नियन्त्रण गर्न सक्छ ? सरकारले निजी विद्यालय र सरकारी विद्यालयबीचको पृथकीकरण रोक्न सक्छ ? अधिकांश नेपालीका छोराछोरीलाई शिक्षाबाट वञ्चित गराउने काम भएको छ । यो प्रणाली भनेको सामन्त, दलाल र पुँजीपतिका लागि आफ्नो सत्ता टिकाउन प्रयोग गर्ने शिक्षा प्रणाली हो । उदाहरणका लागि एक शिक्षक निजी विद्यालयमा दक्ष हुने र त्यसको रिजल्ट पनि राम्रो आउने, त्यहाँ अनुशासन पनि हुने, त्यही शिक्षक सरकारी विद्यालयमा दक्ष पनि नहुने र रिजल्ट पनि राम्रो नआउने स्थिति सिर्जना हुनुमा व्यवस्थापनको कमजोरी हो । यसको पुनःसंरचनासहित रूपान्तरण आवश्यक छ । संविधानले सामाजवाद उन्मुख देश बनाउने कल्पना गरेको छ । यही बेलामा शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा आयोगले परिवर्तनका लागि कमिटी गठन गरेको छ । त्यो कमिटीबाट अब कार्ल माक्र्सले भनेझैँ शिक्षाका तीन आयाम– बौद्धिक शिक्षा, शारीरिक शिक्षा र व्यावसायिक क्षेत्रका पाठ्यक्रममा जोड दिनसके समाजवादी शिक्षा, नसके गुदी समेटिएको शैक्षिक सिद्धान्तको पाठ्यक्रम हुनुपर्दछ ।
शिक्षा देश र भविष्यको निर्णायक तत्व हो । शिक्षाबिना कुनै पनि हालतमा समाज विकास र देशको समृद्धि सम्भव हुँदैन । शिक्षाको सवाल यस्ता मुलुकमा अझ बढी निर्णायक ठहरिन्छ, जसले सम्राज्यवादी उपनिवेश र सामन्तवादबाट स्वतन्त्रता पाएका हुन् । हामी नेपालीले पनि सामन्तवादबाट स्वतन्त्रता पाएकोले शिक्षा कस्तो बनाउने भन्नेबारे समयमा ध्यान पु¥याउनुपर्दछ । सिद्धान्ततः भौतिक र वैचारिक किल्लामध्ये वैचारिक किल्ला जित्नु महŒवपूर्ण हुन्छ । समाजवाद निर्माणको आधारभूत प्रश्न त्यहीँनेर समाधान हुन्छ । जबसम्म समानताके आधारमा पुनः जनतालाई शिक्षित गरिँदैन, तबसम्म व्यावहारिक ज्ञान, बौद्धिक ज्ञानले भौतिक लडाइँ जितिँदैन । त्यसैले प्ुँजीवादबाट समाजवादमा रूपान्तरणको सङ्क्रमणकालमा जनतालाई समाजवाद उन्मुख बनाउन शिक्षालाई रूपान्तरण गर्नुपर्छ । समाजवाद उन्मुख शिक्षाले मानव जातिलाई स्वतन्त्रता र सिर्जनशीलतासहित सामाजिक प्राणी बनाउन सिकाउँछ । आफ्नो स्वतन्त्रता र सिर्जनात्मक क्षमताको बारेमा सचेत भएपछि मात्र मानिस स्वतन्त्र र सिर्जनशील सामाजिक प्राणी हुनसक्छ । स्वतन्त्रतासम्बन्धी चेतना र सिर्जनात्मक क्षमता आफैँ जन्मने कुरा होइन । कसैले जन्मसिद्ध विचार र ज्ञान लिएर आएको हुँदैन । शिक्षाको माध्यमबाट मानिसले स्वतन्त्र विचार, समाज र प्राकृतिक ज्ञान प्राप्त गर्छ । त्यसलाई उसले आफ्नो सिर्जनात्मक शक्तिको मद्दतले अगाडि बढाउँछ र समाजलाई बदल्न सक्छ । नेपाललाई आज त्यही आवश्यक छ । हामीले शिक्षालाई वर्गीकरण गरेर बालबालिकालाई शिक्षा दिनुपर्दछ । दुई वर्षदेखि चार वर्षका बालबालिकालाई ‘शिशु स्याहार केन्द्र’ स्थापना गरी उनीहरूलाई मानवीय ज्ञान, घरपरिवार सञ्चालन, अनुशासन, लेखपढजस्ता सामान्य ज्ञान सिकाउनुपर्छ । ५ देखि १० वर्षका प्राथमिक तहका बालबालिकालाई आधारभूत तरिकाले सोच्ने, अत्मविश्वास जगाउने, घरेलु वस्तुको राम्रो पहिचान गर्ने, श्रम र मेहनतमा ध्यान दिने र स्वाभिमानी बनाउने, दैनिक जीवनसित जोड्ने ध्यान दिनुपर्दछ । १० देखि १५ वर्षका विद्यार्थीको जीवनको सर्वाधिक महŒवपूर्ण समय हो । विश्व दृष्टिकोणको पाठ्यक्रममा जोड दिने, देशलाई आवश्यक पर्ने जनशक्तिको रूपमा तयार पार्नुपर्छ । बहुप्राविधिक शिक्षालाई यही तहबाट जोड दिनुपर्दछ । भूगोल, राष्ट्रिय विकास, कृषि, औद्योगिक शिक्षा, वाणिज्यशास्त्र, लेखा, जनप्रशासन, सूचना प्रविधि र खाद्यान्न, जलस्रोत सम्बन्धित विषयमा अध्ययन गराउनुपर्छ । त्यसपछि हुने उच्चतहको शिक्षामा अनुसन्धानमूलक र खोजमूलक शिक्षाको आधार बनाउन आवश्यक हुन्छ । जनताको भावना आवश्यकता र परिवर्तनसित जोड्ने शिक्षामा ध्यान दिनुपर्छ । राज्यले निःशुल्क शिक्षा प्रदान गर्नुपर्छ । क्षमता अनुसारको शिक्षा पाउने नैसर्गिक अधिकारलाई राज्यले व्यवस्था मिलाउनुपर्दछ ।
अन्त्यमा, विद्यार्थी भनेका नयाँ समाज निर्माण गर्ने जनशक्ति हुन् । केही शिक्षक शिक्षा सुधारका कुञ्जी हुन् भन्ने सैद्धान्तिक ज्ञानलाई आत्मसात् गर्नुपर्दछ । तर नेपालको सन्दर्भमा उल्टो छ । विद्यार्थी भनेका विदेश पलायन हुने र पैसा आर्जन गर्ने देश बनाउने हो । शिक्षक भनेको घरपायक मिलाएर समय काट्ने र आफ्ना छोराछोरीलाई आपूmले दिएको शिक्षाबाट विश्वास नभएर निजी विद्यालयमा पढाउने माध्यम बनेको छ । यसमा रूपान्तरणको आवश्यकता छ । शिक्षा पेशालाई मर्यादित बनाउन पनि शिक्षकले मेहनत गर्नुपर्छ । यसलाई समाजमा सम्मानित पेशाका रूपमा कदर गर्ने र संस्थागत गर्ने माथिदेखि तलसम्म यो प्रक्रिया र कार्यशैलीको विकास गर्नेतिर जोड दिनुपर्छ । समाजमा शिक्षण पेशा अथवा शिक्षा क्षेत्र भनेको सबै सिङ्गो समाजले यस्तो मानोस् कि यो नै हाम्रो भाग्य, हाम्रो भविष्य, हाम्रा बच्चालाई कस्तो बनाउने र कस्तो हुने भन्ने सबैलाई निर्धारण गर्ने भएकाले सबैप्रति चासो राख्नुपर्छ । शिक्षामा रूपान्तरण गर्ने, मेहनत गर्ने भाव जगाउने संस्कारको विकास गर्नमा राज्यले मद्दत गर्नुपर्छ ।

(लेखक नेकपाको उद्योग तथा वाणिज्य विभागका उपप्रमुख हुनुहुन्छ । )  

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds