सुशासनमा राजनीतिक प्रतिबद्धता

gokarna aryalगोकर्ण अर्याल

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषय आज मुलुकका लागि चुनौती बनिरहेको छ । राजनीतिक तहबाट भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता आइरहेका छन् तर भ्रष्टाचार र अनियमितता रोकिने भरपर्दो अवस्था बनेको छैन । आर्थिक अपचलन हुनुमात्र भ्रष्टाचार होइन, नीति नियमविपरीत गरिने हरेक क्रियाकलाप भ्रष्टाचारसँग जोडिन पुग्छ । समाजमा देखिने यस्ता गतिविधि र क्रियाकलापले गर्दा भ्रष्टाचाररहित समाजको परिकल्पना कसरी सम्भव होला ? वास्तवमा यत्रतत्र भ्रष्टाचार र अनियमितताका खबरले समाजमा निराशा उत्पन्न गराइरहेको छ । भ्रष्टाचारीको कुनै जात, रङ्ग, आकार, धर्म, वर्ग, दल वा क्षेत्र हुँदैन । पाए र भ्याएसम्म कँही कसैले भ्रष्टाचार र अनियमितता गर्न छाडेको देखिँदैन ।
समाजमा अपराध कर्म बढिरहेका छन् । यसैका कारण कतिपय मानिस अस्वाभाविक रूपले अकुत सम्पत्तिका मालिक बनेका छन् । तिनीहरू नै समाजका हरेक क्षेत्रमा प्रभुत्व जमाउने होडमा छन् । पछिल्लो समय यस्ता प्रवृत्ति राजनीतिमा पनि पखेटा फिँजाउन सक्रिय देखिन्छ । यसैकारण राजनीतिक तहमा वा त्यसको आडमा हुने भ्रष्टाचारले बढी चर्चा पाउने गरेको छ ।
राजनीतिक दल राजनीतिक तहमा रहेका व्यक्ति स्वच्छ र इमानदार हुने वातावरणले नै समाजमा हुने धेरै अनियमितता रोकिने अवस्था रहन्छ । राजनीतिक क्षेत्र स्वच्छ र इमानदार हुन नसक्दा कतिपय सन्दर्भमा भ्रष्टाचारको मूल जरोका रूपमा यही क्षेत्रलाई औँल्याउने गरिएको पाइन्छ । वास्तवमा यसलाई नियन्त्रण गर्न राजनीतिक तहबाटै पहल गरिनुपर्छ । यसमा सुधार ल्याउन सकिएन भने भ्रष्टाचारमुक्त समाज कल्पनामा मात्र सीमित हुनेछ ।
राजनीतिमा मौलाउँदै गरेको व्यापारीकरणलाई रोक्न सक्नुपर्छ । यतिबेला राजनीति समाजसेवाभन्दा पनि व्यापार व्यवसायजस्तो भएको छ । राजनीति धन–सम्पत्ति आर्जन गर्ने र विलासिता जीवन बिताउने पेसा व्यवसायका रूपमा परिभाषित हुँदै छ । राजनीतिक त्याग तपस्याभन्दा पनि धन–सम्पत्ति भएका व्यक्ति पार्टीका रोजाइमा पर्ने वा त्यस्तैले चुनावमा टिकट पाउने अवस्था बढ्न थालेको छ । भनिन्छ– राजनीतिक, व्यापारिक र आपराधिक समूह एक ठाउँमा हुनु भनेको मुलुक अधोगतिमा जानु हो । हो, राजनीति गर्नेलाई व्यापारिक समूहको साथ र समर्थन चाहिन्छ । व्यापारीलाई पनि राजनीति गर्नेहरूको जरुरत पर्छ ।
यो उपयोग कुन ठाउँमा कति मात्रामा गर्ने भन्ने कुराको पहिचान राजनीतिले गर्न सकेको छैन । हुन त सबै व्यापारिक समूहमा लागेकाहरू व्यापारिक स्वार्थका लागि मात्र राजनीतिक सम्बन्ध जोड्छन् भन्ने होइन । कतिपय व्यापार व्यवसायमा लागेकाहरू राजनीतिलाई मर्यादित बनाउन यसमा प्रवेश गरेका हुन सक्छन् । तर, कतिपय राजनीति गर्ने व्यक्तिको आधार भने व्यापारिक र आपराधिक समूह हुने गरेका छन् । कसरी राजनीति स्वच्छ र पारदर्शी हुन
सक्छ ?
यसकै प्रभावमा जनता र कार्यकर्ताले नरुचाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुने वा दलभित्र हर्ताकर्ता हुने अवस्था निर्माण भइरहेको छ । यसरी राजनीतिमा हाबी भएकाहरूको ध्यान देश, जनता र पार्टीभन्दा पनि आफ्ना सीमित स्वार्थमा केन्द्रित हुनु अन्यथा भएन । त्यसमा दल वा तिनका नेता पनि कुनै न कुनै रूपमा जोडिन पुग्छन् । राजनीतिमा धन र डनको प्रभाव बढ्दै जान थालेको छ । एउटा चुनाव जित्न लाखौँ, करोडौँ रुपियाँ खर्च गर्नुपर्ने अवस्था पनि यही अपारदर्शी राजनीतिले निम्त्याइरहेको छ । एउटा सामान्य घर–व्यवहार चलाउन मुस्किल पर्ने व्यक्ति निर्वाचनमा लाखौँ खर्च गर्ने हैसियत कसरी निर्माण गर्छ ? यस्ता विषयमा खुलेर समीक्षा गर्न सक्ने हैसियत दलहरूले किन कायम गर्न सकिरहेका छैनन् ? अदृश्य रूपमा निर्वाचन वा अन्य प्रयोजनका लागि लिएको रकम कसरी तिर्छन् ? यसबापत तिनै व्यापारिक र आपराधिक समूहलाई फाइदा पुग्ने काममा राजनीतिक तहबाट साथ र समर्थन जुटिरहेको हुन्छ ।
वास्तवमा यस्ता विषयमा शुद्धीकरण नभएसम्म राजनीतिक दल वा राजनीति गर्ने व्यक्ति यस्ता आरोपबाट मुक्त हुन सक्दैनन् । निर्वाचनलाई कम खर्चिलो र तडकभडकरहित बनाउन राजनीतिक दलकै भूमिका महŒवपूर्ण रहन्छ । कार्यकर्ता र मतदातालाई पैसाको प्रभावभन्दा पनि नीति र कार्यक्रमका आधारमा आकर्षित गर्ने वातावरणले नै राजनीतिमा गैरराजनीतिक व्यक्ति वा समूहको प्रभाव हटेर जान्छ । यसबाट निर्वाचनमात्र होइन, समग्र राजनीतिलाई नै स्वच्छ र मर्यादित तुल्याउनमा सहयोग पुग्छ । यसले पार्टीका त्यागी, इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताको शिर उँचो गराउँछ । कुनै पनि राजनीति कदरका लागि यो बलियो आधार बन्न पुग्छ ।
पछिल्लो समय कतिपय राजनीतिक दल र राजनीतिमा लागेकाहरूले यस किसिमको चरित्रलाई त्याग्दै गएका पनि छन् । केही व्यक्तिको अनैतिक कर्मका कारण सिङ्गो राजनीतिप्रति नै वितृष्णा बढेर गएको छ । वास्तवमा मुलुकको सबै किसिमका परिवर्तनको नेतृत्व राजनीतिले गरेको हुन्छ । राजनीति गर्ने व्यक्तिको आचरण र भूमिका स्वच्छ र पारदर्शी हुनैपर्छ । हरेक राजनीतिक दलहरू आर्थिक रूपमा पारदर्शी हुने हो भने समाजको तर्फबाट दल र तिनका नेताप्रति औँला ठड्याउने अवस्था पनि आउँदैन । अहिले कतिपय राजनीतिक दल आर्थिक रूपमा पारदर्शी हुन सकिरहेका छैनन् ।
यसको प्रभाव पार्टीको तल्लो तहसम्म पुग्ने गरेको छ । कुनै पनि पार्टी वा विद्यार्थी सङ्गठनमा लागेका व्यक्ति ठाँटपूर्ण जीवनशैलीमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । उसमा यस किसिमको हैसियत कसरी प्राप्त भयो भनेर प्रश्न गर्ने आँट नेतृत्वले पनि गुमाइसकेको अवस्था छ । अनियमित रूपमा अर्थोपार्जन गर्ने र नेताको घरदैलो चहारेको भरमा राजनीति गर्ने प्रवृत्तिले प्रश्रय पाउने अवस्था राजनीतिक विकृति हो ।
हरेक राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्ताका आर्थिक अभिलेख राखेर उसको आर्थिक हैसियत के हो ? खोजिनिती गर्नुपर्छ । यतिबेला प्रायः धेरै राजनीतिक दल र भ्रातृ संस्थाहरूको ध्यान जनताका समस्यामा भन्दा आफ्नै स्वार्थ र विलासितातर्फ केन्द्रित छ । ठूला तहबाट हुने अनियमित कार्यमात्र भ्रष्टाचार होइन, सर्वसाधारणले प्रयोग गर्ने दैनिक उपभोग्य सामग्रीमा हुने मूल्य र गुणस्तरहीन वस्तुको विक्री वितरण हुनु पनि भ्रष्टाचार हो । यस्ता कार्य रोक्नका लागि ती संस्थाहरू सक्रिय हुनुपर्ने हो । तर, ती संस्था किन मौन ? उनीहरूले गरेका राजनीतिले सर्वसाधारणले के फाइदा लिइरहेका छन् ?
विशेषगरी खाद्यान्न आपूर्तिमा सहजता ल्याउने, खाद्य पदार्थमा गुणस्तरीयता कायम गराउने, यातायातमा हुने अनियमितता रोक्ने, चाडबाडको बेला हुने कालोबजारी नियन्त्रण गर्ने, जनताका अत्यावश्यक सेवा–सुविधालगायतका विषयमा राजनीतिक दलका भ्रातृ संस्थाहरू लाग्नुपर्ने हो । ती संस्थाहरू के गरेर बसेका छन् ? राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता रह्यो भने भ्रष्टाचार नियन्त्रण हुन नसक्ने प्रश्नै छैन । प्रत्येक व्यक्ति र निकायले निर्धारित कानुन, विधि र पद्धतिको परिधिभित्र रहेर निर्धारित जिम्मेवारी र दायित्व निर्वाह गर्ने परिपाटीले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ । यी निकायलाई यस किसिमको विधि र परिधिमा हिँडाउन सिकाउने पनि राजनीतिले नै हो । भनाइ छ– महाजनो येनःगत स पन्था ः । अर्थात् समाजका अगुवा वा समाजलाई नेतृत्व प्रदान गर्नेहरूले जुन किसिमको आचरण, व्यवहार र शैली देखाउँछन्, समाजले पनि त्यसकै अनुशरण गर्छ । यसैले समाज रूपान्तरणमा राजनीतिक प्रभाव महŒवपूर्ण रहन्छ भनिएको हो ।

(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ । ) 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds