नियात्रा: मुक्ति खोज्दै मुक्तिनाथतिर

अर्चना लामिछाने

muktinathमुस्ताङको यात्राका क्रममा पाहुना बनाएर स्वागत ग¥यो बेनीबजारले । बीचमा बगिरहेको छ कालीगण्डकी । यसै कालीगण्डकीले छुट्याएको रहेछ बजारक्षेत्रलाई । वारि पर्वत बेनी र पारि म्याग्दी बेनी । म्याग्दीको सदरमुकाम बेनी चाहिँ म्याग्दीखोला र कालीगण्डकीको बीचमा रहेछ । काठमाडौँबाट लगातारको माइक्रो बसको यात्रामा थकित बनेका थियौँ बेनी टेक्दा । पहिलो दिनको बास बेनीमै बसेर भोलिपल्ट मुक्तिनाथतिर हिँड्ने निर्णय भयो ।
वि.सं. २०७६ को असार १५ गते । खेती–किसानीका लागि कामको चटारो र घरघरमा दहीच्यँरा खाने दिनमा हामी भने बिहानको चियासम्म नपिई मुक्तिनाथ जाने जिपमा सखारै गुड्न तयार भयौँ । बेनीबजारबाट मुस्ताङको मुक्तिनाथ जान बाटो यसै पनि असजिलो, त्यसमाथि मध्यअसारमा । त्यसैले अरू गाडीले बाटो बिगार्नुभन्दा पहिल्यै मौका छोपेको रे जिप ड्राइभरले ।
पत्रपत्रिकामा पढेकी र टेलिभिजनको पर्दामा देखेकी हुँ मुस्ताङ र मुक्तिनाथलाई । सशरीर कहिले पुग्न पाइएलाजस्तो कल्पना मनमा आइरहन्थ्यो । त्यही कल्पनालाई साकार रूप दिन हामी चार दिदीबहिनी बुबाका साथमा मुस्ताङ जाँदै थियौँ । ठँलाबाकी छोरी अभिज्ञा, फुपँकी छोरी कृति र हामी दिदीबहिनी अर्चना, अर्पणा । जिपमा बसे पनि मन भने आत्तिइरहेको थियो । कतै बाटोमा पहिरोले अवरोध गरेर जानै नपाई फर्कनुपर्ने त होइन !
राम्ररी उज्यालो पनि नहँुदै हाम्रो जिपले बेनीबजार छोड्यो । कहालीलाग्दो रूपमा गड्गडाइरहेको छ कालीगण्डकी दायाँतिर । हामी जाने बाटो कालीगण्डकीको तीरैतीर रहेछ । बाहिर पानी झरझर परिरहेकै छ । बाटोमा हिलैहिलो छ । धन्न त्यो ‘फोर ह्विल’ जिप घच्याकघुचुक गर्दै उकालिइरहेको छ । दायाँबायाँ डरलाग्दा पहाड छन् । पहाडको खोँचैखोँच हामी उत्तरतिर लागेका छाँै । जिपमा गुडेको एक घण्टामा हामी तेतिङ पुग्यौँ । भर्खरै खुल्दै गरेका होटेलमा चियाका निम्ति रोकियौँ । हतारहतार चिया पाक्यो । डुनोट पाक्यो । हामीले तातो चिया र डुनोट खाएर शरीरमा तरान भ¥यौँ । हामीलाई हेर्ने कुरा कहाँ, केके छन् थाहा छैन । बेलाबेलामा ड्राइभर दिनेश खड्कालाई सोधिरहेका छौँ । उनी बताउँदै छन् । त्यत्तिकैमा भुरुङको तातोपानी आइपुगेछ । हामीलाई रोकेर हेर्न लगाए । हामीले पानीको कुण्ड हे¥यौँ । तातोपानी छोयौँ हातले । त्यस्तो पानी परिरहेको बेलामा पनि च्वास्स पोल्यो हात । म्याग्दीको त्यो तातोपानी कुण्डभन्दा पनि प्रसिद्ध अर्को सिँघा तातोपानी छ रे । बेनीबजारबाट आधाघण्टा माथितिर तर हामी जाने बाटोमा थिएन त्यो । हामीले यही तातोपानी कुण्ड हेरेर चित्त बुझायौँ । अग्ला पहाडमा हरियाली र रुखबिरुवाहरू छन् । माथितिर हेर्दा कता हो कता, चुचुरो देख्न सकिँदैन जति घाँटी तन्काए पनि ! त्यस्तै पहाडलाई चिरेर सेता झरनाहरू झरिरहेका देखिन्छन् लोभलाग्दा । गाडी रोकेर हेरिरहँँजस्तो । कुदेर गई थापिउँजस्तो ।
हाम्रो त्यस्तै चाहनाले हो कि क्या हो, एउटा झरनाछेउमा जिप रोकियो । म्याग्दी जिल्लामा रहेको संसार प्रसिद्ध ‘रुप्से झरना’ रहेछ त्यो । त्यही झरनाकै छेउमा कालीगण्डकीमा विश्वकै सबैभन्दा गहिरो खोँच रहेछ । दाना भनिँदोरहेछ त्यसलाई । अन्नपँर्ण र धौलागिरि हिमालको बीचमा कालीगण्डकी गहिरिएको ठाउँ । हामीले रुप्सेमा टाँसिएर फोटो खिच्यौँ । शरीर रुझे पनि पर्वाह भएन । मनको इच्छा पँरा गरेर रुप्सेको तस्बिर मनमनमा पनि टाँसेर हिँडियो ।
अजङ्गका पहाडलाई काटेर खोलिएको रहेछ मुस्ताङ जाने सडक । गाडी मात्र बल्लबल्ल छिर्ने । यताउता अलिकति मात्र छोए पनि बर्बाद होला भन्ने डर ! यस्तै डरलाग्दा पहाड काटेका रोडमा गुड्दै घाँसा पुग्दा म्याग्दी जिल्लाको सिमाना सकिनेरहेछ । जतिजति माथि गयो, भँगोलको बनोटले हामी घुमन्तेलाई उति लोभ्याउने । थाहा भएन त्यहाँका मान्छे पनि हामी जसरी नै लोभिन्छन् कि ! तर स्थानीयलाई कति कुरामा कहर काट्नु परिरहेको होला । त्यो कुराको हामीलाई के पत्तो ? म्याग्दी छाडेर मुस्ताङ प्रवेश गरेपछि हामीलाई हिमालका चुचुराहरूले दायाँबायाँबाट स्वागत गरिरहे । मुस्ताङकै लेते पुगेपछि त हिमाल हामीसँगै टाँसिन आएजस्तो लाग्यो । आधुनिक घरहरू भएको, एउटा प्राविधिक शिक्षालय पनि भएको लेतेबजार रमाइलो रहेछ, फुर्सदले बसिरहँँजस्तो ।
गन्तव्यमा नपुग्दै त्यति धेरै सुन्दर ठाउँहरू देख्न पाउँदा मन फुरफुर उडिरह्यो पुतली बनेर । पथप्रदर्शक र चालक दुवैको काम गर्ने ड्राइभर पाएछौँ । जो कोही कहाँ हुन्छन् र यस्ता ! सरर गुड्दै गर्दा जिप रोकेर उनले देखाए– ‘उ, त्यही हो साहित्यकार भँपी शेरचन जन्मेको गाउँ । अनि नजिकैको खोला चाहिँ थाकखोला । थकालीहरूको सबैभन्दा पुरानो बस्ती ।’
थाकखोलाको मीठो सङ्गीत सुन्दै हामी उत्तरतिरै उकालिइरह्यौँ । आँखा झिम्क्याउन मन नलाग्ने दृश्यहरू छन् । त्यस्तैमा बाटोका दायाँबायाँ हरिया बगैँचा आए । स्याउको बगैँचा रहेछ । मुस्ताङको परिचय बोकेको स्याउबारी । मुस्ताङको पर्याय मार्फा रहेछ त्यो ।
‘क्या राम्रो स्याउबारी मार्फा गाउँमा’ भन्ने गीतको भाका कानमा ठोक्किन आयो । हामी रोकियौँ । मार्फा गाउँ हेर्न जाने छुट्टै बाटो रहेछ, गाडी हिँड्ने छुट्टै बाटो बाहिरबाट । गाडी केही पर पर्खेर बस्ने गरी गयो । हामी ढुक्कसँग मार्फा गाउँ हेर्न गयौँ । मार्फा पस्नासाथ स्याउको बास्ना हरर चल्न थाल्यो । बोटभरि लटरम्म छन् स्याउ । खाने बेला अलि भएको रहेनछ । मुस्ताङको हावाको तालमा स्याउका बोटहरूको नाचले लोभ्याउनु लोभ्यायो । मार्फाका घरहरूले उसैगरी लोभ्याएका छन् । घरका छानोमा दाउराका मुढा र चाङ लगाइएको अनौठो दृश्य छ । अनेक दृश्यहरू हेरेर कहिले अघाइएला र जस्तो । करिब चालीस मिनेटको रमाइलो भ्रमणपछि हामी मार्फाबाट अलग भयौँ । जानु छ अझै माथि । एउटै ठाउँमा धेरै समय दिन सम्भव छैन । गाडी चढेर हामी छिट्टै जोमसोम पुग्यौँ । एयरपोर्टमा हवाईजहाज उडेको देख्न पाइयो । सानो रहेछ एयरपोर्ट चुटुक्क परेको ।
खानापछि जोमसोमनजिकै रहेको ढुम्बाताल हेर्न गयौँ । पानको पातको आकारमा रहेको ढुम्बाताल । साँच्चै सुन्दर रहेछ । बुद्धधर्म मान्नेहरूले धार्मिकरूपमा मान्ने । अरूले प्राकृतिक सुन्दरताको आनन्द लिने ठाउँ रहेछ । मुस्ताङमा हावा कत्तिको चल्छ भनेर थाहा पाउन पनि एकपटक यहाँ पुग्नुपर्ने रहेछ । लुङ्दारको फरफर आवाज, तालभित्रको सुन्दरताले छुट्टिन मनै छैन । फोटो खिचेर अघाइएन तर पनि छोड्नुप¥यो ढुम्बाताललाई । फर्कंदा बाटोमा देखियो ठिनीगाउँ । अचम्मलाग्दा घरहरू । छानाभरि दाउरा राखिएका छन् चाङ लगाएर । घरका छानाहरू माटोले ढलान गरेका हुँदारहेछन् । यो बस्ती बोन धर्मावलम्बीहरूको बसोवासको रहेछ ।
ठिनीबाट मुक्तिनाथतिर लाग्दा एक बजिसकेको छ । अब भने कालीगण्डकी सानोसानो देखिएको छ र पनि रूप भने कालै छ । यस्तै कालो पानीले बारम्बार हानेर पनि शालिग्राम शिला कालो भएको होला भन्ने कुरा कल्प्यो मेरो मनले । नत्र विश्वमा कहीँकतै नपाइने शालिग्राम यहाँ कसरी पाइन्छ त ? कल्पनाका यस्तै छालहरूमा पौडँदै पुगियो कागबेनी । कागबेनी दोभानमा रहेछ– मुक्तिनाथ खोला र कालीगण्डकीको दोभान । मातापिता नहुनेहरूले पितृको सम्झनामा श्राद्ध गर्ने चलन रहेछ ।
कालीगण्डकीको साथ सकिएको छ । हामी उत्तरतिर लाग्यौँ । काली उत्तर–पश्चिमबाट आएको छ । कस्तो अचम्म, लोभलाग्दो पिच बाटो पो
आयो ! मुक्तिनाथको दँरी ११ किलोमिटर देखाएको छ कोसेढुङ्गाले । गाडीलाई पनि दशैँ आएको जस्तो भएको होला । कतै घच्याकघुचुक छैन । बाटो होस् त
यस्तो पो ।
केही माथि पुगेपछि गाडी विस्तारै कुद््न थाल्यो । ड्राइभरले भने– ‘थाहा पाउनुभो ? यी अब गाडीलाई लेक लाग्न थाल्यो ।’ कस्तो अचम्म मेसिनलाई पनि लेक लाग्दोरहेछ ! हामीले त्यहीँ थाहा पायौँ । साढे दुई बजेतिर मुक्तिनाथ बसपार्कमा झर्दा हामीलाई पनि लेक लागेको लक्षण देखियो । ज्यान गलेजस्तो भयो । टाउको दुख्न थाल्यो । हिँड्दा गाह्रो भयो । मतमत लाग्न थाल्यो । यतिबेला झोलामा बोकेको लसुनको काम आयो । हामी लसुनको पिरो पोटी चपाउन थाल्यौँ । होटेलमा पुगेर आराम गर्नैप¥यो । सुतियो निकैबेर । बेलुकाको खाना खाएपछि केही आराम भयो । भोलि बिहान त सबेरै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जानु नै छ ।
मनमा निकै उत्साह भरिएको छ । हिमालपारि पुगेर मुक्तिनाथको दर्शन गर्न पाउनु पनि भाग्य नै हो भन्दैछ मनले । बिहान चाँडै भए पनि मान्छेको कल्याङमल्याङ सुनिँदैछ बजारमा । भारतीयहरू देखिन्छन् बाक्लै । तीर्थयात्रीलाई बोक्ने घोडा कुदिरहेका छन् । तिनैको प्रयोग गरेर साहँले पाँच मिनेटमै तीन सय रुपियाँ कमाउँदा रहेछन् ।
कलात्मक सिँढी चढ्दै बल्ल पुगियो मुक्तिनाथ मन्दिर । मन्दिरमा कालो र सेतो रङ लगाइएको छ । प्यागोडा शैलीका बनाइएको सुन्दर छ मन्दिर । मन्दिरको पछाडि खललल झर्ने १०८ वटा कलात्मक धारामा जो कोहीले किन नुहाउन सक्थे । हातै झर्लाजस्तो चिसो पानी । तैपनि आस्था लिएर यो उच्च ठाउँमा आएकाहरूलाई जाडोले किन रोक्थ्यो र ! कपडा फुकालेर तीन फेर नुहाउँदै पाप र धर्म पोखरीमा डुब्नेहरू पनि देखिए । हामीले त धाराको जल शिरमा छर्किनु सिवाय केही गर्न सकिएन । दर्शन गर्न बिहानै मन्दिरअगाडि लाइन लागियो । हिन्दुविधि र बौद्धविधिले पँजा हुँदोरहेछ । हिन्दुविधिमा ब्राह्मण पुरोहित र बौद्धविधिमा आनीले पँजा गर्ने चलन नौलो लाग्यो । मुक्तिनाथ मन्दिरमा झुमा हुन्छन् भनेको सुनेकी थिएँ । बल्ल देख्न पाएँ ठाउँमै । नित्यपँजापछि हाम्रो पालो आयो दर्शन गर्ने । हामीले दर्शन ग¥यौँ । आस्थाले हात जोड्यौँ, शिर झुकायौँ, आँखा चिम्ल्यौँ । दर्शन यही त हो नि, भगवान्को मँर्ति सम्झँदै मनले गरिने दर्शन ।
बौद्धधर्म मान्नेहरूले गुरु पद्मसम्भवले ध्यान गरेको स्थानको रूपमा यसलाई लिने गर्दा रहेछन् । हिन्दुधर्म मान्नेहरूले भगवान् विष्णुको रूप मानी मुक्तिका लागि दर्शन गर्ने चलन छ । मुख्य मन्दिरको दर्शनपछि वरिपरि रहेका बुद्धमँर्तिहरू र गुम्बा हेर्नैप¥यो । लहरेपीपलको जङ्गल, खोलाको छङछङ आवाजभित्र हराउँदै रमायौँ । नजिकै प्राकृतिक ग्याँसले बल्ने बत्ती रहेछ । हे¥यौँ निहुरेर । नजिक जाँदा पँरै ग्याँसको गन्ध आउँदोरहेछ । मुक्तिनाथको वरिपरि लुङ्दारहरू फर्फराइरहेका छन् । मानेहरू छन् । हिन्दु र बौद्ध धर्मावलम्बीका लागि समान आस्थाको केन्द्र मानिँदोरहेछ ।
हामी फर्किने तरखर गर्दै तलतल झर्न थाल्यौँ । बाटो उक्लिँदाभन्दा बढी भीडभाड हुँदै थियो । भौगोलिक विकटताको पर्वाह नगरी उमेरले डाँडो काटेका वृद्ध शरीरहरू पनि आफन्तका साथमा मुक्तिनाथको दर्शन गर्न लम्किरहेका थिए । यति अनकन्टार ठाउँमा पनि मानिसको घुइँचो लागिरहेको छ । बाटोभरि पसलहरू छन् । ऊनीका कपडा बेच्ने पसल, जिम्बु बेच्ने पसल । कालीगण्डकीमा कुँदिने शालिग्राम बेच्ने पसलहरू । चौँरीका चमर बेच्ने पसल । स्थानीयको पारिवारिक गर्जो टार्न कमाउने बाटो । यो देखेर धार्मिक पर्यटनले देशको आर्थिक अवस्था उठाउने अनुमान लगायो मेरो मनले ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds